राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएकाे छ ।
संसदका दुवै सदनले नागरिकता विधेयक संवैधानिक ब्यवस्थामा उल्लेख भएका प्रावधान पुरा गरी प्रमाणीकरणका लागि पठाएपनि राष्ट्रपतिले त्यसलाइ अस्वीकार गर्नुभएकाे हाे ।
कानुनका ज्ञाताहरूले यसले गम्भीर रूपमा संविधानकाे उल्लंघन मानेका छन् ।
राष्ट्रपतिले २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फर्काएको यो विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले हुबहु पारित गरेको थियो । त्यसप्रति राष्ट्रपति भण्डारी रूष्ट हुनुहुन्थ्याे । यद्यपि राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक ब्यवस्था रहेकाे विज्ञहरू बताउँछन् ।
भाद्र २० भदौमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाउनुभएकाे उक्त विधेयक मंगलबार मध्यरातसम्ममा प्रमाणीकरण हुनुपर्नेमा त्यसाे हुन सकेछ ।
संविधानको धारा ११३ (४) मा भनिएको छ, ‘राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ ।’
यसले राजनीतिक तथा संवैधानिक विवाद बढ्ने निश्चित छ । त्यस्तै सरकार र राष्ट्रपति कार्यालयवीच समेत द्वन्द्व बढ्ने देखिएकाे छ । विधेयक अव अदालती मुद्दाकाे बिषय पनि बन्न सक्ने छ ।

