नवाैं राष्ट्रिय खेलकूदः प्यराग्लाइडिङ खेलका क्रममा एक जनाकाे मृत्यु
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत तेस्रो दिन आइतबार पनि विभिन्न खेलहरू सम्पन्न भएका छन् ।
राष्ट्रिय प्याराग्लाइडिङ च्याम्पियनसिपका क्रममा पुरुष क्रशकन्ट्री विधामा प्रतिस्पर्धा गरेका त्रिभुवन आर्मी क्लबका निसिम थापाको दुर्घटनामा निधन भएकाे छ । हावाको अस्थिर चालकाे कारण प्याराग्लाइड टेक अफ गरेको तीन मिनेटमै उनी करिव १०० मिटरबाट जमिनमा बजारिन पुगेकाे बताइएकाे छ ।
पोखराको मेट्रो सिटी अस्पतालमा उपचारका क्रममा चिकित्सकले निसिमकाे शरीर मृत घाेषणा गरेका थिए । निसिम प्रतिभाशाली खेलाडी भएकाे उनका सहकर्मीहरूकाे भनाइ छ ।
एथलेटिक्स, पौडीलगायत केहि स्पर्धामा स्वर्ण विजेताको छिनोफानो भएको छ भने केहि स्पर्धामा समूहचरणका खेल चाैंथाे दिनका लागि पनि जारी रहने भएका छन् ।
तेस्राे दिन पौडीमा तीन र एथलेटिक्समा दुई राष्ट्रिय कीर्तिमान बनेका छन् । पौडीमा नासिर हुसेनले २०० मिटर इन्डिभिज्युअल मिड्ले र २०० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरे भने महिलातर्फ डुवाना लामाले ५० मिटर ब्रेष्टस्ट्रोकमा आफ्नै नामको कीर्तिमान सुधारेकी हुन् ।
एथलेटिक्समा आर्मीका दीपक अधिकारीले १० हजार मिटर दौडमा स्वर्णसहित नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले गोपीचन्द्र पार्कीको नाममा रहेको ८ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् भने आर्मीकै जयरानी थारुले ४०० मिटर हर्डल्समा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेकी छन् ।

