आम निर्वाचन २०७९ः स्थिर समय

आम निर्वाचन २०७९ को स्थिर समय गएराति १२ बजेदेखि शुरु भएको छ । मतदानको ४८ घण्टा अघिदेखि निर्वाचनको मौन अवधिका रूपमा स्थिर समय लागू गर्ने कानुनी प्रावधान छ । स्थिर समय अर्थात् मौन अवधिमा उम्मेदवार र उनीहरुको पक्षमा मत माग्न, प्रचारप्रचारका लागि राेक लगाइन्छ ।

निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा राजनीतिक दलहरु तथा उम्मेदवारहरूले कुनै पनि माध्यमबाट प्रचारप्रसारका काम गर्न पाउँदैनन् । दलहरुलाई छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी लगायत क्रियाकलाप गर्नमा समेत याे अवधिमा रोक लगाइएको हुन्छ ।

मतदान हुने नजिकैकाे समयमा प्रतिस्पर्धीहरूवीच विवाद वा झैझगडा हुन सक्ने तथा हिंसात्मक घटना हुन सक्ने जस्ले गर्दा मतदातामा भय सिर्जना हुन नहाेस भन्ने ध्येयका साथ माैन अवधिकाे प्रचलन रहेकाे हाे ।

मौन अवधि शुरु भएपछि दल वा उम्मेदवारहरुले मतदान केन्द्रको ३०० मिटर वरपर राखिएका प्रचारप्रसार सामग्री हटाउनुपर्ने निर्वाचन आचारसंहितामा उल्लेख छ ।

निर्वाचन आयोगले सामाजिक सञ्जाल, सञ्चारमाध्यम लगायत अन्य उपायबाट राजनीतिक दल, उम्मेदवारको पक्ष/विपक्षमा सन्देश, सूचना र प्रचारप्रसार सामग्री राख्न र शेयर गर्न समेत रोक लगाएको छ । आयोगले निर्वाचन आचारसंहिता पालना भए नभएकाे अनुगमन र निरीक्षण गरिरहेकाे जनाएकाे छ ।

केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकको निर्णय

१ निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३  को दफा २४ को उपदफा (५) मा कसैले पनि मतदान हुने दिनभन्दा अठचालिस घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नहुने र सोही दफाको उपदफा (७) मा सो विपरितका कार्य गरेमा आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५  हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको, निर्वाचन आचारसंहिता, २०७९  को दफा १७ मा मतदान हुने दिनको अघिल्लो अठचालिस घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरणसम्बन्धी व्यवस्था रहेको र संवत्  २०७९  साल मङ्‌सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा मिति २०७९/०८/०१ गते राती १२ बजेपछि निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्न नपाइने भएकोले उल्लिखित कानुनी व्यस्था तथा निर्वाचन आचारसंहिताको प्रभावकारी रूपमा कार्यान्वयन गर्न देहायबमोजिमको व्यवस्था गर्ने:-

(क)  मिति २०७९/०८/०१ गते राती १२ बजेपछि निर्वाचन प्रचारप्रसार सम्बन्धी वा राजनीतिक दल वा उम्मेदवारको गतिविधि वा प्रचारप्रसार सम्बन्धी कुनै पनि समाचार प्रकाशन वा प्रसारण नगर्ने तथा नगराउने प्रबन्ध गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल प्रेस काउन्सिललाई लेखी पठाउने,

(ख) मिति २०७९/०८/०१ गते राती १२ बजेपछि मतगणनाको काम पूरा नभएसम्म कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी, मष्तिष्क मन्थन लगायतका निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि गतिविधि नगर्न वा नगराउन तथा फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री प्रकाशन वा प्रसारण, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन तथा आफ्नो सामाजिक सञ्चालमा त्यस्तो सामग्री भएमा तत्काल हटाउन उम्मेदवार, राजनीतिक दल लगायत सम्पूर्ण सरोकारवालाहरूलाई निर्देशन दिने,

(ग)   मिति २०७९/०८/०१ गते राती १२ बजेपछि निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा नराख्न, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन सर्वसाधारणलाई आह्वान गर्ने।

  1. मिति २०७९/०८/०१ गते राती १२  बजेपछि कसैले निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३  को दफा २४  को उपदफा (५) विपरित निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गरेमा सोही दफाको उपदफा (७) बमोजिम तत्काल जरिवाना गरी सोको जानकारी आयोगमा गराउन सम्पूर्ण निर्वाचन अधिकृत तथा अनुगमन अधिकृतहरूलाई निर्देशन दिने ।

३.   मतदानको दिन मतदान केन्द्रको वरिपरि कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने खालका एकै रङ वा किसिमका साङ्‍केतिक अर्थ जनिने पोशाक, लोगो, ब्याज, झण्डा, टिसर्ट, ज्याकेट, गम्छा, टोपी, क्याप, भेष्ट, मास्क, झोला, स्टीकर लगायतका पहिरन र चीज वस्तु लगाएमा, प्रयोग गरेमा, देखाएमा र प्रदर्शन गरेमा तत्काल जफत गर्न सुरक्षाकर्मीलाई निर्देशन  दिने ।

४.   मिति २०७९/०८/०१ गते राती १२ बजेपछि सामाजिक सञ्जाल तथा अनलाइन सञ्चार माध्यमबाट कुनै राजनीतिक विज्ञापन नगर्ने नगराउने, यस अघि गरिएका यस्ता विज्ञापनहरु हटाउन सम्बन्धित सञ्चार माध्यमलाई अनुरोध गर्ने र सोको अनुगमन गर्न विज्ञापन बोर्डलाई निर्देशन    दिने ।

Facebook Comments