बन्ला त सरकार गठनमा रास्वपा निर्णायक!

जनमत दलहरूले अनुमान गरेजस्ताे मात्रै हुँदैन भन्ने कुरा मतदाताले निर्वाचन मार्फत् पुष्टि गरिदिएका छन् । यसपटककाे निर्वाचनमा सत्ता गठबन्धन या प्रतिपक्षी दल नेकपा एमाले र अन्य दलहरूले समेत चिताएका भन्दा धेरै नै फरक खालकाे चुनावी नतिजा आएकाे छ ।

ठूला दलहरूले दाबी गरेका भन्दा ५० प्रतिशत कम सिटमा मात्र चुनावी नतिजा उनीहरूकाे पक्षमा देखिएकाे छ । यसपटक ठुला दलहरूसँग निराश एवं आक्राेशित मतदाता रवि लामिछाने नेतृत्वकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे चुनाव चिन्ह घण्टीमा आकर्षित हुँदा यस अगाडि सत्तामा हालीमुहाली गर्ने दलहरूकाे भने हाेस हवास नै उड्ने गरी घण्टी बजेकाे हुनुपर्छ ।

दलकाे नेतृत्वमा रहेका दाेस्राे तहका उम्मेदवारहरू समेत उल्लेख्य संख्यामा पराजित भएका छन् । स्वयं रवि लामिछाने नेतृत्वकाे राष्ट्रिय स्वतन्त्र पार्टीले पनि याे खालकाे चुनावी नतिजाकाे अनुमान गरेकाे थिएन ।

जुन कुरा चुनावी नतिजापछिकाे साे दलका सभापति रवि लामिछानकाे सार्वजनिक टिप्पणीहरूबाट बुझ्न सकिन्छ । निर्वाचन अगाडि चुनाव जिते पनि प्रतिपक्षमा बसेर भ्रष्टाचारीहरु विरूद्ध घण्टी बजाउने भने पनि चुनावी नतिजापछि भने लामिछानेकाे पार्टी सरकारमा सहभागी हुन सक्ने बुझ्न कुनै कठिन छैन । लामिछानेकाे पार्टीले पत्यक्षमा ८ र समानुपातिकमा १० देखि १४ सिट सम्म ल्याउने देखिन्छ । यसरी हेर्दा २२ सिट सहित रास्वपा सरकार गठनमा निर्णायक दल बन्न सक्ने देखिएकाे छ ।

चितवनमा लामिछानेले राष्ट्रहितमा काम गर्न दलहरुसँग सहकार्य गर्ने भनेर त्यसैतर्फ संकेत गरेकाे बुझिन्छ । हुन पनि सत्ता गठबन्धनकाे पनि स्पष्ट बहुमत नहुने स्थितिमा रवि लामिछाने सरकार गठनका लागि सहज विकल्प हुने देखिन्छ । एमालेले सरकार गठनका लागि पहल गरेमा पनि नेकपा माअाेवादी केन्द्र र रवि लामिछानकाे रास्वपा लगायतकाे सहयाेग आवश्यक हुन्छ । अहिलेकाे सत्ता गठबन्धन कायम रहेमा एमालेलाई भन्दा कांग्रेसलाई गठबन्धनमा बहुमत पुर्याउन सजिलाे देखिन्छ । तर असजिलाे अवस्थामा साना राजनीतिक दलले अस्वभाविक वार्गेनिङ गर्ने अवस्था सिर्जना हुने निश्चित छ । यसले अवकाे ५ बर्ष पनि सहज रूपमा राजनीति अगाडि बढ्ने भने देखिदैंन ।

त्यसका लागि धेरै पर जानुपर्दैन अघिल्लाे पटक बाम पार्टीहरूकाे स्पष्ट बहुमत हुँदा अझ पार्टी एकीकरणपछि नेकपाकाे स्पष्ट बहुमत हुँदा पनि ५ पटक स्थिर रूपमा सरकार चल्न सकेन । यसपटक त जनमत नै खण्डित भएर आएकाे छ । यस्ताे अवस्थामा रास्वपा, राप्रपा लगायतका दलले सत्ताकाे साँचाे घुमाउन सक्ने गरी सिट भएका छन् । ठूला दलहरूले साेच विचार नगरेमा जनमतकाे सम्मान गरेर विगतका कमी कमजाेरी सच्याएर अगाडि नबढेमा नेपालकाे राजनीति थप अस्थिर बन्न सक्ने संकेत देखिएकाे छ ।

हुन त हरेक हार वा नकारात्मक नतिजा खराव अवस्थाकाे लागि मात्र नभइ अवसरकाे रूपमा पनि रूपान्तरण गर्ने गरी अाउन पनि सक्छ भनिन्छ ।

Facebook Comments