समानुपातिकतर्फ कांग्रेसका ३२, रास्वपाका १३ सांसद छनाैट
निर्वाचन आयाेगमा समानुपातिक सांसद छनाैट गरेर बुझाउनका लागि आज दलहरू समानुपातिक तर्फकाे उम्मेदवार छनाैटमा व्यस्त रहेका छन् । यसैवीच नेपाली कांग्रेसले प्रतिनिधिसभाका ३२ समानुपातिक सांसदको नाम टुंगो लगाएको छ ।
शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर प्रतिनिधि सभासँगै प्रदेश सभाका समानुपातिकको नाम टुंगो लगाएकाे हाे । प्रदेशतर्फ भने सांसद छनाैट टुंगाे लाग्दैछ । त्यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारीहरुसँग परामर्श भइरहेकाे बुझिएकाे छ ।
यसैवीच ३ जना पुरूषमा प्रकाशशरण महत, विमलेन्द्र निधि र जीवन परियार छनाैटमा परेका छन् । ३३ प्रतिशत महिला पुयार्उन ३२ मध्ये २९ जना महिलाकाे नाम पठाउनुपर्ने बाध्यता कांग्रेससँग थियाे ।
महिलातर्फ भने सूची बनाउँदा नै क्रम मिलाएकाले त्यसमा विवाद गर्ने ठाउँ भएन । तर पुरूषतर्फ भने सबै क्लस्टरमा प्रभावशाली नेताहरू पहिलाे सूचीमा भएकाले छनाैटका लागि अफ्टेराे भइरहेकाे थियाे ।
पुरूषतर्फ खसआर्य पुरुषतर्फ प्रवक्ता प्रकाशशरण महत, आदिवासी जनजातितर्फ पूर्व उपसभापति गोपालमान श्रेष्ठ, मधेसी पुरुषतर्फ अर्का उपसभापति विमलेन्द्र निधि र दलिततर्फ सहमहामन्त्री जीवन परियार, थारु पुरुषतर्फ योगेन्द्र चौधरी र मुस्लिम तर्फ सहमहामन्त्री फरमुल्लाह मन्सुरकाे नाम पहिलाे नम्बरमा थियाे ।
महिला समानुपातिकतर्फ प्रधानमन्त्री पत्नी आरजु देउवा राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण, खस आर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावललाई छानेको छ । प्रसाईं, गौतम र रावल संस्थापन इतर पक्षका हुन् भने बाँकी देउवा समूहका हुन् ।
आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी वोखिम (लिम्बू), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठको नाम टुंगो लागेको छ।
दलितबाट शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक चयन, मधेशीमा नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल छानिएका छन् ।
यस्तै, मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत सांसदका लागि छानिएका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक पद्धतिबाट पाएका १३ जना सांसद चयन गरेको छ ।
प्रवक्ता मुकुल ढकालले यसअघि पार्टीकाे प्राइमरी इलेक्सन अनुसार निर्वाचन आयाेगमा बुझाएकाे सूची अनुसार नै समानुपातिक तर्फकाे सांसद छनाैट गरिएकाे हाे ।
जस अनुसार दलितबाट सन्तोष परियार र शिव नेपाली, आदिवासी जनजातिबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ, खस आर्यबाट डा. चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी र विनिता कठायत चयन हुनुभएकाे छ
त्यस्तै मधेशीबाट लक्ष्मी तिवारी र मनिष झा, थारुबाट अशोक चौधरी र मुस्लिमबाट असिम साह छनोट हुनुभएकाे छ ।

