नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने
सडकखण्डमा पर्ने पुल निर्माणका लागि भन्दै नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द गर्न लागिएकाे छ । यसअघि पनि सडक विस्तारका लागि दैनिक साे सडक खण्ड सवारी बन्द गराएर विस्तार गरिएकाे थियाे ।
नागढुङ्गा– मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजनाले सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्न बिहान ११ बजेदेखि दिउँसाे ३ बजेसम्म सडक बन्द गरिने सूचना जारी गरेकाे छ ।
एक महिना दैनिक चार घण्टा सडक बन्द गरेर पुल निर्माणका लागि भित्ताे काटेर सक्ने आयोजनाकाे लक्ष छ ।
भौगोलिकरूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्नुपर्ने आयाेजनाले जनाएकाे छ । साे सडक खण्डमा ६ वटा पुल निर्माणाधीन अवस्थामा छन् । ती मध्ये ४ वटा पुल जाेखिमयुक्त भाैगाेलिक क्षेत्रमा भएकाले सवारी आवागमन राेकेर भित्ता कटान कार्य गर्न लागिएकाे हाे ।

