पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनसँगै सञ्चालनमा आउने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे सञ्चालन हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले अंग्रेजी नयाँ वर्षकाे अवसर पारी आज विमानस्थलकाे उद्घाटन गर्ने कार्यक्रम तय भएकाे छ ।
विमानस्थल उद्घाटन हुन लाग्दा पाेखरेली व्यवसायीहरू उत्साहित भएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख बिक्रम गौतमका अनुसार नयाँ अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन र उद्घाटनका लागि सबै तयारी पूरा भएको छ ।
तत्कालका लागि आन्तरिक उडान सूचारू हुने र अन्तर्राष्ट्रिय उडान कहिलेबाट सुरु हुने भन्ने निश्चित छैन । बुद्ध एयरले भारतका विभिन्न स्थानमा अन्तर्राष्ट्रिय उडानका लागि भारत सरकारसँग उडान अनुमति मागेपनि पाउन सकेकाे छैन ।
जनसहभागिता र प्रचारप्रसारको जिम्मा पाएकाे पोखरा महानगरपालिकाले पाेखरामा सार्वजनिक विदा दिएकाे छ । साे अवसरमा पाेखरा विकासकाे खाका काेर्ने डा.शंकरराज पाठकलाई रथाराेहण सहित अभिनन्दन गर्ने कार्यक्रम छ ।
५० वर्ष पहिला पाठकले तत्कालीन अञ्चलाधीशकाे जिम्मेवारीमा रहँदा पाेखराकाे विकासका लागि खाका काेर्नुभएकाे थियाे । पाठकले भने त्यतिबेलाकाे प्लानिङ अनुसार काम नभएकाे प्रतिक्रिया दिनुभएकाे छ ।


