संसद बैठकः प्रधानमन्त्री प्रचण्डले विश्वास मत लिने
ब्यवस्थापिका संसद बैठक बस्दैछ । संसद बैठककाे कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिने कार्यसूची छ ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा पाैष १० गते प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त हुनुभएकाे हाे ।
प्रधानमन्त्री नियुक्त भएपछि १ महिनाभित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । संसदमा २७५ सदस्य रहेकाले प्रधानमन्त्रीले १३८ जना सांसदकाे विश्वासकाे मत पाउनुपर्ने हुन्छ ।
प्रधानमन्त्री बन्न समर्थन नगरेका र सरकारमा सहभागी नभएका अन्य दलहरूले समेत प्रचण्डलाई विश्वासको मत दिने बताएका छन् । नेपाली कांग्रेस, एकीकृत समाजवादीले भने विश्वासको मत दिने नदिनेबारे निर्णय गरिसकेका छैनन् । यद्यपि कांग्रेस र एकीकृत समाजवादीकाे समेत विश्वासकाे मत प्राप्त हुने आश प्रचण्डले लिएकाे बताइन्छ ।

