ज्यामिरे गाउँमा बनेको कमलादेवीको मन्दिर उदघाटन

पोखरा महानगरपालिका वडानं २८ ज्यामिरेमा निर्माण भएको कमलादेवी मन्दिरको एक कार्यक्रमका विच उदघाटन भएको छ । मन्दिर निर्माण भएपछि धार्मिक पर्यटकको संख्यामा बृद्धि हुनेमा स्थानीयले आशावादी बनेका छन् ।

मन्दिरको नेकपा माओबादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष एवं प्रदेशका निर्वतमान सांसद गायत्री गुरुङ कुसुमले शुक्रबार उद्घाटन गर्नुभएको हो ।

गुरुङले स्थानीयको मागको आधारमा आफुहरुले थोरै बजेट विनियोजन गर्दापनि ज्यामिरेको स्थानीयको सक्रियताले धेरै काम भएको बताउनु भयो ।

विकासमा राजनीति गर्न नहुने भन्दै गुरुङले स्थानीयको जनभावना र मागको आधारमा विकास गर्नु जनप्रतिनिधिको दायित्व भएको जनाउनु भयो ।

उहाँले आगामिदिनमा पनि ज्यामिरे र पोखरा २८ सहित अन्यठाँउमा पनि विकासको लागि सधै पहल गर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै वडानं २८का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले आगामी बर्षको बजेटमा ज्यामिरे गाउँ र कमलादेवी मन्दिरमा सक्दो सहयोग गर्ने जनाउनु भयो ।

कार्यक्रममा बोल्दै स्थानीय दीर्घसिङ गुरुङले मन्दिर सहित अन्य भौतिक निर्माण गर्दा ३८ लाख रकम खर्च भएको जनाउदै आगामिदिनमा पनि साथ र सहयोगको अपेक्षा गरेको बताउनु भयो । कार्यक्रममा मन्दिर निर्माण गर्न आर्थिक सहयोग गर्नेहरुलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा अमृत गुरुङले मन्दिर उत्पतिको इतिहासको बारेमा चर्चा गर्नुभएको थियो । कमलादेवी मन्दिर स्वरर्गीय बहावीर गुरुङले देखेको सपनाको आधारमा कालु गुरुङ र बहाविर गुरुङ मिलेर झण्डै एक सय बर्ष अगाडि स्थापना गरेको जानकारी दिनु भयो ।

मन्दिर निर्माण समितिका अध्यक्ष कमल बहादुर गुरुङले अहिले सम्म सरकारी बजेट नपरेको ज्यामिरे गाउँमा गायत्री गुरुङले विनियोजन गरेको बजेटनै सरकारी पहिलो बजेट रहेको जनाउनु भयो । पहिले देखिनै पुजाहुदै आएपनि मन्दिर नहुदा स्थानीयहरु पुजा एवं दर्शन गर्न जान निकै कठिनाई रहेको गुरुङको भनाई थियो ।

गायत्री सांसद हुदा निर्वाचन पुर्वाधार विकास कार्यक्रम र अन्य शिर्षकबाट १३ लाख बढि बजेट र अन्य स्थानीयको आर्थिक सहयोगबाट ३८ लाखको लागतमा मन्दिर निर्माण भएको हो ।

स्थानीय आसमाया गुरुङले मन्दिर निर्माण पछि गाउँमा धार्मिक पर्यटकको चहलपहल हुने विश्वास ब्यक्त गर्नु भयो । यस अगाडिपनि पुजा गर्नको लागि अन्य ठाउँ बाट मान्छे आउने गरेपनि मन्दिर नहुदाँ निकै अप्ठेरो पर्ने गरेको उहाँको भनाई थियो ।

अहिले मन्दिर निर्माणले गाउँछाडेर गएका देखि जन्मगाउँ र आफ्नो ठाउँलाई माया गर्नेहरु सवैको मन मिलाउने काम मन्दिर निर्माणले गरेको जनाउनु भयो ।

उदघाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बखान सिङ तमु आभाष, नेकपा एमालेका नगरउपाध्यक्ष मोहन गुरुङ , माओबादी केन्द्रका नेता लालमोहोन तिवारी सागर ,नेपाली काग्रेस,नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता सहित स्थानीयको उलेख्य सहभागिता रहेको थियो ।

Facebook Comments