जग्गाको कित्ताकाट खुला, कारोबार सहज हुने विश्वास
सरकारले लामाे समयदेखि राेकिएकाे जग्गाको कित्ताकाट खुला गरेको छ । मन्त्रिपरिषद् बैठकले मंगलबार भू–उपयोगसम्बन्धी पहिलो संशोधन नियमावली–०७९ लाई स्वीकृत गर्दै कित्ताकाट खुला गरेको हाे ।
सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भू–उपयोगसम्बन्धी पहिलो संशोधन नियमावली–०७९ स्वीकृत गर्ने निर्णय भएको जानकारी दिनुभयाे ।
जग्गाकाे कित्ताकाट राेकिंदा अंशबन्डा, जग्गाकाे खरिद बिक्री कारोबार र कित्ताकाटसम्बन्धी समस्या भएकाे थियाे ।
कित्ताकाट र घरजग्गा कारोबारसम्बन्धी भूउपयोग नियमावली–०७९ मा गत मंसिर २३ सम्म कृषि एवं गैरकृषि क्षेत्र छुट्याइसक्नुपर्ने र त्यसपछि १० वटै भागमा वर्गीकरण गर्नुपर्ने नियमावलीमा रहेकाे प्रावधानका कारण देशैभर जग्गासम्बन्धि काराेबार प्रभावित भएकाे थियाे ।
अधिकांश स्थानीय तहले जग्गाकाे वर्गीकरण गर्न सकेका थिएनन् । सरकारले जग्गा कित्ताकाट हुन नसक्दा अर्थतन्त्रमा समेत समस्या आएको ठानेर यस्ताे निर्णय गरेकाे हाे ।

