अन्तर्राष्ट्रिय योग दिवस २०८० मनाइँदै
नेपाल याेगकाे भूमीः प्रधानमन्त्री
अन्तर्राष्ट्रिय योग दिवस २०८० नेपालमा पनि मनाइँदैछ । काठमाण्डाैमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकाे संयाेजनमा याेग दिवसका अवसरमा कार्यक्रम गरिएकाे छ ।
संयुक्त राष्ट्रसंघको महासभावाट सन् २०१४ डिसेम्वर ११ का दिन पारित प्रस्तावअनुसार सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ का दिन अन्तर्राष्ट्रिय याेग दिवस मनाउने गरिएकाे छ ।
काठमाण्डाैमा भएकाे कार्यक्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बाेधन गर्दै अन्तर्राष्ट्रिय योग दिवस २०८० को सुखद् अवसरमा स्वदेशमा र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीघार्यु, खुशी आरोग्य र प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएकाे छ ।
जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघमा प्रस्ताव राख्नुभएको थियो भने नेपालका तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले उक्त प्रस्तावको समर्थन गर्नुभएको थियो ।
प्रधानमन्त्रीले नेपाल योगको भूमि रहेकाे भन्दै नेपालका तीन सभ्यताहरू शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता योगको जगमा विकसित भएको उल्लेख गर्नुभयाे ।
उहाँले नेपालको साँस्कृतिक इतिहासलाई खोतल्ने हो भने यहाँका पुराना भवन र शहरको निर्माणमा पनि योगको ज्ञान–विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग गरिएको देखिने सम्बाेधनका क्रममा बताउनुभयाे ।
अन्तर्राष्ट्रिय योग दिवस २०८० को सन्दर्भमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको सम्बोधन मन्तव्य
(६ असार २०८०, काठमाडौँ)
कार्यक्रमका अध्यक्ष माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यू,
उपस्थित अतिथिगणहरू,
योग गुरूहरू,
योगका अभियान्ताहरू
सम्पूर्ण योगप्रेमी दिदीबहिनी दाजुभाइहरू तथा ,
सञ्चारकर्मी मित्रहरू ।
१. सर्वप्रथम अन्तर्राष्ट्रिय योग दिवस २०८० को सुखद् अवसरमा स्वदेशमा र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीघार्यु, खुशी आरोग्य र प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
२. संयुक्त राष्ट्रसंघको महासभावाट सन् २०१४ डिसेम्वर ११ का दिन पारित प्रस्तावअनुसार सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ लाई हामीले संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रको हैसियतमा अन्तर्राष्ट्रिय योग दिवस मनाउँदै आइरहेका छौँ । जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघमा प्रस्ताव राख्नुभएको थियो भने नेपालका तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले उक्त प्रस्तावको समर्थन गर्नुभएको थियो ।
३. हरेक वर्ष जुन २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने सन्दर्भमा नेपालमा पनि राष्ट्रिय स्तरमा मनाउनका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई संयोजन गर्ने जिम्मेवारी दिइएअनुरूप आज यो कार्यक्रम सम्पन्न भइरहेको जानकारी गराउँदै कार्यक्रमको आयोजना र व्यवस्थापन गर्नुहुने सबैप्रति धन्यवाद व्यक्त गर्दछु ।
४. हाम्रा योग गुरूहरू र अध्येताहरूले बताएअनुसार नेपाल योगको भूमि हो र यो योग धरोहर हो । नेपालका तीन सभ्यताहरू शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता योगको जगमा विकसित भएको पाइन्छ । नेपालको साँस्कृतिक इतिहासलाई खोतल्ने हो भने यहाँका पुराना भवन र शहरको निर्माणमा पनि योगको ज्ञान–विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग गरिएको देखिन्छ । मठमन्दिर र मूर्तिकलामा होस या चित्रकला, पौभाचित्र (थान्का) सबैतिर योगको प्रभाव देखिन्छ । ढुंगेधारा, कुवा–इनार र राजकूलोका निर्माणमा पनि योगको ज्ञानलाई प्रयोग गरिएको देख्न सकिन्छ । त्यसैले योग नेपालकै अमूल्य निधि पनि हो प्राकृतिक वातावरणको हिसावले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासका लागि एउटा सुन्दर भूमि हो र यो देश योग सम्वन्धी ज्ञान–विज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि मूल गन्तव्य बन्न सक्छ । हामीले परिकल्पना गरेको योग माया आयुर्वेद विश्वविद्यालयले भोलिको दिनमा विश्वस्तरीय विश्वविद्यालयको रूपमा आफूलाई स्थापित गर्दै यस क्षेत्रमा प्राज्ञिक नेतृत्व गर्नुपर्दछ भन्ने पनि मलाई लाग्दछ ।
५. योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति हो । स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र मनोवैज्ञानिक रूपमा सबल बनाउन योगले सहयोग पुर्याउँछ । शरीरलाई स्वस्थ र फूर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय योग हो । नियमित योगअभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्यक्षमतामा बृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि हुने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने, अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्म ज्ञान प्राप्ति र आत्मप्रेरणा हासिल भई काममा प्रभावकारिता आउने लगायतका सकारात्मक गुणको विकास हुन्छ भन्ने यसक्षेत्रका अनुभवी व्यक्तिहरूको ज्ञान र अनुभववाट हामीले सिक्नुपर्दछ ।
६. तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ शरीर, आघातमुक्त चित्त विकासमा योगको महत्वपूर्ण भूमिका रहन्छ । योग र ध्यानका अभ्यासहरू व्यक्तिगत तहमा पुग्दा त्यसले नसर्ने रोगहरूको रोकथाम, उपचार र पुनस्र्थापनाका लागि महत्वपूर्ण योगदान गर्ने भएकोले यसलाई व्यापक बनाई सबैलाई स्वस्थ र सुखी बनाउनेतिर कदम चाल्न योगका अभियन्ताहरू र योग गुरूहरूको अहम् भूमिका हुन्छ भन्नेमा हामी सबै स्पष्ट छौँ । अन्तर्राष्ट्रिय योग दिवस मनाइरहँदा योग सम्वन्धी नेपालले गरिरहेको अभ्यासको विश्वव्यापीकरणमा हामीले पर्याप्त ध्यान दिनुपर्दछ र व्यवस्थित ढङ्गले काम गर्नुपर्दछ । यसबाट नेपालमा योग पर्यटनको विकास गर्न सकिन्छ ।
७. मानव जातिको इतिहास, जीवनवृत्ति र विकासका क्रममा पूर्वीय समाजले बहुआयमिक योगदान गर्दै आएको छ । चिन्तन, दर्शन, सभ्यता र संस्कृतिका दृष्टिले मात्र नभएर पूर्वीय वाङ्मय र जीवनशैलीमा पनि हामी त्यति नै वैभवशाली छौँ । यसको व्यवस्थित अध्ययन, अनुसन्धान र व्यवस्थित स्वामित्व लिएर हाम्रो ज्ञानभण्डार र जीवनलाई विश्वव्यापी रूपमा स्थापित गर्ने जिम्मेवारीसमेत हाम्रोसामु छ । यसतर्फ यहाँहरूजस्तो विद्वत वर्गको अग्रणी भूमिका रहने मैले विश्वास लिएको छु ।
८. अन्तमा आजको अन्तर्राष्ट्रिय योग दिवस सन् २०२३ को कार्यक्रमलाई देशभरि आआफ्नो तहमा सञ्चालन गरेर एउटा जागरण पैदा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने संघीय सरकारको मुल आयोजक समिति, प्रदेश सरकार, स्थानीय तहका साथै रचनात्मक कार्यक्रममार्फत् आ–आफ्नो ठाउँबाट योगदान पुर्याउनुहुने समस्त संघसंस्था र महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दै विदा हुन्छु, धन्यवाद

