प्रतिनिधि सभाकाे बैठक बस्दै
प्रतिनिधि सभाको बैठक आज साेमबार बस्दैछ। यसअघिका बैठक प्रतिपक्षी दल नेकपा एमालेले अवराेध गर्दै आएकाले आइतबार बस्ने भनिएकाे बैठक पनि अवराेध हुने भएपछि स्थगित गरिएकाे थियाे ।
आज अपराह्न तीन बजे बस्ने बैठकबाट ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्ने विधेयक, २०८० पारित गर्ने कार्यसूची छ। बैठकमा ‘केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरूले दिएका विरोधको सूचनाहरूलाई निर्णायार्थ प्रस्तुत गर्ने कार्यसूची छ।
तत् पश्चात ‘केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक, २०८०’ दफावार पेस हुँदैछ ।
राष्ट्रिय सभामा उत्पत्ति भएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी कानुनमन्त्री धनराज गुरूङले प्रस्ताव पेस गर्ने संभावित कार्यसूची छ ।
संसद बैठकका बिषयमा दलहरूवीच सहमति जुट्न भने बाँकी छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने सम्भावना छ।
आइतबार प्रधानमन्त्रीले तीन दलका शीर्ष नेताहरूसँग बैठक गरी सदन खुलाउने विषयमा छलफल भएपनि प्रधानमन्त्रीकाे सचिवालयकाे विज्ञप्ति तथा गृहमन्त्रीकाे सामाजिक सञ्जालमा व्यक्त अभिव्यक्ति लगायतका लिएर एमालेले सदन अवराेध कायम राख्ने जनाएकाे थियाे । साेही कारण साेमबार सम्मका लागि प्रतिनिधिसभाकाे बैठक स्थगित गिरएकाे हाे ।
असार १८ गतेको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल एमाले र रास्वपा लगायतले संसद अवरूद्ध गर्दै आएका छन्।
आइतबारको बैठकमा प्रधानमन्त्रीले उक्त अभिव्यक्तिबारे संसदलाई स्पष्ट बनाउने र एमालेले अवरूद्ध सदन खुलाउने सहमति भएको थियो।

