काठमाडाैंमा लगातार वर्षा, तटीय क्षेत्रमा सतर्क रहन

हाल देशभर सामान्य देखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। काठमाडाैंमा हिजाेदेखि लगातार पानी परिरहेकाे छ ।

काठमाडौं उपत्यकाको बुढानिलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी बर्षा भएकोले विष्णुमती, धोविखोला, मनोहरा लगायतमा जलसतह बढ्दो रहेकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

नदी तटीय क्षेत्रहरूमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजे सम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।

यतिबेला महाशाखाकाे मौसम विश्लेषण अनुसार नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू-भागमा तथा आसपास रहेको न्यून चापीय प्रणाली (Low Pressure Area) को प्रभाव रहेको छ।

मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough)  सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ।

ज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

मधेश, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै बुधबार र बिहीबार पनि कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।

लगातारकाे वर्षातका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय तथा हावा हुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा  हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाकाे अनुरोध छ।

Facebook Comments