आज कुशे औँसी
प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले विशेष रूपमा मनाउँदैछन् ।
आज पुजा गरेर उखेलिएकाे कुश ब्राह्मणले जजमानकाे घरघरमा पुर्याइदिने चलन छ ।
यसरी कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर विभिन्न धार्मिक कार्यहरूमा प्रयोग गर्न सकिन्छ ।
सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मानी पुजा गर्ने तथा प्रयाेग गर्ने गर्दछन् ।
यसैवीच छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुबाकाे मुख हेर्ने दिनका रूपमा आज बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने गर्दछन् । बुबा नहुनेहरूले काठमाण्डाैकाे उत्तरपूर्वमा पर्ने गोकर्णेश्वर महादेव मन्दिर परिसर लगायत विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन्।
काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरमा विशेष मेला लाग्दछ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ ।

