शिक्षा विधेयकः शिक्षक र स्थानीय तह दुवै असन्तुष्ट

सरकारले ल्याएकाे शिक्षा विधेयकले शिक्षक र स्थानीय तह असन्तुष्ट बनेका छन् । देशभरका शिक्षकहरूले सरकारले वार्तामा बस्न गरेको आग्रहलाई अस्वीकार गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्न लागेका छन् ।

काठमाडाैंकाे माइतीघरमा शिक्षककाे प्रदर्शन हुँदै छ भने स्थानीय तहले समेत शिक्षा विधेयकमा रहेकाे प्रावधानप्रति असन्तुष्टी जनाएका छन् ।

संविधानअनुसार शिक्षा विधेयकमा शिक्षकको सरुवा, बढुवा, नियुक्ति कार्यसम्पादन, सेवासुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका रहने व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गरेको हो ।

संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई पालिकामातहत राख्ने व्यवस्था गरेको छ । यो व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै महासंघले शिक्षकका पेसागत सुरक्षा, हकहित र सम्मानको माग राख्दै विद्यालय बन्द गरी आन्दोलन गर्न लागेकाे हाे ।

साेही विधेयकबार स्थानीय तहका छाता संगठनका रूपमा रहेका गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले मंगलबार विज्ञप्ति जारी गर्दै आफूहरूको अधिकारमा अंकुश लगाउन खाेजिएकाे भन्दै असन्तुष्टी प्रकट गरेका छन् ।

उनीहरूले विद्यालय शिक्षा ऐन मान्य नहुने चेतावनी समेत दिएका छन् । संघीयताकाे मर्मविपरीत स्थानीय सरकारको अधिकारमा अंकुश लगाउने गरी विद्यालय शिक्षा ऐन ल्याउन खोजिएको जिकीर उनीहरूकाे जिकीर छ ।

विज्ञप्तिमा भनिएको संघीय सरकारले माध्यमिक शिक्षाभन्दा माथिको प्रावधान समेटी समग्र राष्ट्रिय शिक्षा नीति तथा मापदण्डसहितको संघीय शिक्षा ऐन अविलम्ब तर्जुमा गर्न उपयुक्त हुने सुझाव दिइएकाे छ ।

स्थानीय सरकारले शिक्षकहरूकाे आन्दोलनप्रति भने असहमित जनाएकाे छ । शिक्षकका मागप्रति आफूहरूको ध्यानाकर्षण भएको भन्दै संघ र महासंघले बालबालिकाको आधारभूत शिक्षा प्राप्त गर्ने मौलिक हक र मानव अधिकार हनन नगर्न भनेकाे छ ।

Facebook Comments