धार्मिक सहिष्णुता एवं सामाजिक सद्भाव थप सुदृढ गर्नुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्नु आजको राष्ट्रिय कार्यभार रहेको बताउनुभएकाे छ ।

इन्द्रजात्राका अवसरमा आज शुभकामना दिँदै उनले संविधानको सुदृढीकरण, राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी अन्तर्घुलन कायम गरी समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न इन्द्रजात्राले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएकाे छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त विविधता एवं सानो भूगोलभित्र प्राकृतिक विविधता र गहिरो भावनात्मक एकता भएको सुन्दर मुलुक रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सभ्यता, धर्म, संस्कृति, चाडपर्व एवं रहनसहनमा विविधताले हाम्रो वैभवशाली इतिहास र वर्तमानलाई प्रतिविम्बित गर्दै आएको स्मरण गर्नुभएकाे छ ।

नेपालका ऐतिहासिक एवं सांस्कृतिक पर्वमध्ये इन्द्रजात्रा सबैभन्दा पुरानो एवं रोमाञ्चक पर्वसमेत मानिन्छ । मुख्यतः काठमाडौं उपत्यकासहित अन्य विविध स्थानमा मनाइने इन्द्रजात्रा पर्व परम्पराकालदेखि मनाउँदै आएको ऐतिहासिक सांस्कृतिक पर्व हो ।

प्रधानमन्त्री प्रचण्डले इन्द्रजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेवार समुदायलगायत समस्त नेपालीमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता एवं निरन्तर प्रगतिको समेत कामना गर्नुभएकाे छ ।

Facebook Comments