परिवर्तन विरोधी प्रवृतिलाई निस्तेज पारिन्छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख राजनीतिक दलहरु एकैठाउँमा उभिएर परिवर्तन विरोधी प्रवृतिलाई निस्तेज पार्ने बताउनुभएको छ ।
गणतन्त्र, संघीयता धर्म निरपेक्षता लगायतका परिवर्तनका विरुद्ध प्रश्न उठाउने चेष्टा गरिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘यो बीचमा मेरो दौडधुप पनि परिवर्तनका लागि विगतमा संघर्ष गरेका सबै राजनीतिक दलहरुलाई एकतावद्ध गर्नमा केन्द्रित छ ।’
नेपाली काँग्रेसद्वारा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘यो चियापान संस्कृति बीपी कोइराला जीवितै हुँदा सुरु गरिएको संस्कृति हो । यसले आपसी एकता र सद्भाव वृद्धि गरेको छ ।’
उहाँले चाडपर्वको अवसरमा आयोजित यस्ता कार्यक्रमले आपसी एकता अभिवृद्धि गर्ने, राष्ट्रिय राजनीतिलाई स्थिरता, सहमति र सहकार्यको दिशा तिर लैजाने र आउने दिनमा जनताको विकास र समृद्धिको अपेक्षा पुरा गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनेदेखि नै सबै राजनीति दलहरुका बीचमा सहमति बनाउने प्रयत्न भएको स्पष्ट गर्नुभयो ।
यसैवीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र कतारका राजा शेख तमिम बिन हमद अल थानीअर्काे हप्ता नेपाल भ्रमणमा आउनुहुने भएकाे छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवै उच्चस्तरीय भ्रमणबारे जानकारी दिनुभएकाे हाे । प्रधानमन्त्रीले आफू नेतृत्वको सरकारको कुटनीतिक प्रयासका कारण ठूला अन्तर्राष्ट्रिय भ्रमणहरु भइरहेको बताउनुभयाे ।
महासचिव गुटेरेस चार दिने नेपाल भ्रमणका लागि आइतबार राति नेपाल आउँने कार्यक्रम छ । ‘उहाँ (संयुक्त राष्ट्रसंघका महासचिव) फर्केपछि कतारको राजा पनि आउँदै हुनुहुन्छ, यो सबै हाम्रो कुटनीतिक सफलताको परिणाम हो भनेर बुझ्नुपर्ने हुन्छ’, कांग्रेसकाे पार्टी कार्यालय सानेपामा भएकाे चियापान कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे ।
संयुक्त राष्ट्रसंघको महासभा र अति कम विकसित मुलुकको सम्मेलनमा आफूले गरेको सम्बोधन र पहलका कारण संयुक्त राष्ट्रसंघका महासचिवकाे नेपाल भ्रमण हुन लागेकाे बताउनुभयाे ।

