उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हिमपातको सम्भावना
पछिल्लाे समय दिनहुँ चिसाे बढिरहेकाे छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा भारतकाे राजस्थान आसपास रहेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेकाे उल्लेख छ ।
महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएकाे छ ।
हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायात देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको बाँकी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने उल्लेख गरेकाे छ ।
त्यस्तै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
उपत्यकामा चिसाे बढेकाे छ।

