राजतन्त्र फर्कन सम्भव छैनः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजतन्त्र फर्कन सम्भव नभएकाे बताउनुभएकाे छ । समृद्धिका लागि संकल्प यात्रा नाम दिइएकाे एमालेकाे मध्यपहाडी लोकमार्ग यात्रा बिहीबार पोखरामा भएकाे कार्यक्रममा अध्यक्ष ओलीले यस्ताे बताउनुभएकाे हाे ।

मंसिर १४ मा बैतडीबाट मध्यपहाडी लोकमार्गको यात्रा बिहीबार बागलुङ, पर्वत हुँदै कास्की प्रवेश गरेको हो ।

पोखरा महानगरपालिका–२५ हेम्जामा सम्बाेधनका क्रममा ओलीले मरेर चिहानमा पुगिसकेको राजतन्त्र फर्किनेवाला नरहेको उल्लेख गर्नुभयाे । उहाँले एमालेको समृद्धिको लागि संकल्प यात्रा अभियानबाट प्रतिक्रियावादीहरु अत्तालिएकाे बताउनुभयाे ।

नेपाली जनताको गरिबीको एवं विकास हुन नसक्नुमा राजतन्त्र कारक रहेकाे पनि ओलीले जिकीर गर्नुभयाे ।

राजतन्त्र सामन्ती प्रणाली भएकाे उल्लेख गर्दै उहाँले लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति एमाले अग्रपंक्तिमा रहने बताउनुभयाे ।

देशी विदेशी शक्ति मिलेर एमाले नेतृत्वकाे सरकार ढलाएकाे दावी गर्दै ओलीले अहिले भने एमाले झन् बलियो भएकाे तर्क गर्नुभयाे । सरकारकाे आलाेचना गर्दै उहाँले भ्रष्ट्राचार र कमिसनतन्त्रको जालोमा अल्झिरहेकाे आराेप लगाउनुभयाे ।

यसअघि विहीबार नै बाग्लुङ र पर्वतमा समेत एमालेले कार्यक्रम गरेकाे थियाे ।

Facebook Comments