प्रधानमन्त्री प्रचण्ड असंलग्न आन्दोलन (नाम) को शिखर सम्मेलनका लागि युगान्डा प्रस्थान
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असंलग्न आन्दोलन (नाम) को १९औं शिखर सम्मेलनमा सहभागी हुन विहीबार बिहान युगान्डा प्रस्थान गर्नुभएकाे छ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्रीले शिखर सम्मेलनमा शुक्रबार सम्बाेधन गर्ने कार्यक्रम छ ।
सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा स्वकीय सचिव गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन् ।
यस वर्ष ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयका शिखर सम्मेलन हुन लागेकाे हाे । शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री प्रचण्डले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड यही माघ ७ गते बिहान काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
यसैबीच प्रधानमन्त्री प्रचण्डको अनुपस्थितिमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार सम्हाल्नुहुने भएकाे छ ।

