खबरचासाेकर्मी पाण्डेयलाई ओटेफको सम्मान
खबरचासाेका समाचार संयाेजक घनश्याम पाण्डे सम्मानित हुनुभएको छ । महिला पर्यटन व्यवसायी मञ्च(ओटेफ)ले छैटौं साधारणसभाको अवसरमा उहाँलाई सम्मान गरेको हो ।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले पाण्डेलाई नगद सहित सम्मान प्रदान गर्नुभयो । पत्रकारिताका माध्यमबाट पर्यटन विकासमा योगदान गरेकामा उहाँलाई सम्मान गरिएको ओटेफका अध्यक्ष उमा रेग्मी भण्डारीले बताउनुभयो ।
सम्मानित पाण्डे प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको वरिष्ठ उपाध्यक्ष तथा पर्यटन पत्रकार महासंघ गण्डकीको महासचिव समेत हुनुहुन्छ । पाण्डेले दुई दशकदेखी पत्रकारिता गरिरहनुभएको छ ।
कार्यक्रममा महानगर प्रमुख आचार्यले गण्डकी प्रदेशको राजधानी समेत रहेको देशको प्रमुख पर्यटकीय गन्तव्य पोखरालार्ई पर्यटकीय राजधानी घोषणाको तयारी गरिएको बताउनुभयो।
आगामी चैत पहिलोसाताभित्रमा भव्य समारोहकाबीचमा पर्यटकीय राजधानी घोषणा गरिने उहाँले जानकारी दिनुभयो । हालसम्म यही दिन भनेर मिति तय नभएपनि चैत १ देखी ७ गतेभित्रमा घोषणा समारोह हुने बताउनुभयो । प्रदेश सरकार र महानगरले औपचारिक निर्णय गरेर राजधानी घोषणाका लागि सङ्घीय सरकारमा पठाएका छन् ।
पर्यटकीय राजधानीका लागि गण्डकी प्रदेश सरकार र महानगरपालिकाले पटक पटक सङ्घीय सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

महानगर प्रमुख आचार्यले धेरै लामो छलफल र अध्ययनपछि राजधानी घोषणा गर्ने ठाउँमा पुगेको बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को उपस्थितिमा घोषणा कार्यक्रम गर्ने योजना रहेको सुनाउनुभयो ।
आचार्यले भन्नुभयो,“पोखरा के हो भन्नेमा कुनै दुविधा छैन, पोखरा पर्यटनको केन्द्र हो,, गन्तव्य हो र पर्यटनको पर्यायबाची हो । सबै चिज हो भने क्यापिटल सिटी अफ टुरिजम पनि किन नभन्ने भनेर घोषणा गर्दछौँ ।”
उहाँले घोषणा समारोहलाई उत्सवका रुपमा मनाउने गरी तयारी गर्न समेत पर्यटन व्यवसायी समक्ष आग्रह गर्नुभयो । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्ड गण्डकीका निमित्त प्रमुख नविन पोखरेल, पर्यटन व्यवसायी वासु त्रिपाठी, होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुली, अध्यक्ष उमा रेग्मी भण्डारी, निर्वतमान अध्यक्ष पार्वती पाण्डे, सचिव बालकुमारी न्यौपाने लगायतले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न पोखरेली पर्यटन व्यवसायी आतुर रहेको बताउनुभएको थियो ।

