पाकिस्तानको १४ औं राष्ट्रिपतिमा जरदारी निर्वाचित
काठमाडौं । पाकिस्तानको १४ औं राष्ट्रिपति पदमा आसिफ अली जरदारी निर्वाचित हुनुभएकाे छ । शनिबार भएको निर्वाचनमा इमरान खान समूहका उम्मेदवार महमूद खान अचकजाईलाई पराजित गर्दै जरदारी राष्ट्रपति पदमा निर्वाचित हुनुभएकाे हाे ।
जरदारीले ४११ मत पाए भने अचकजाईले ११८ मत हाँसिल गर्नुभयाे । नवाजको पार्टी पीएमएल–एन र बिलावलको पार्टी पीपीपीले मिलेर आसिफ अली जरदारीलाई उम्मेदवार बनाएको थियो ।
जरदारी सन् २००८ मा पनि राष्ट्रपति पनि बन्नुभएकाे थियाे। इमरान समर्थक एसआईसी पार्टीले महमूद खान अचकजाईलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो ।
राष्ट्रपति निर्वाचनमा मतदानका क्रममा पाकिस्तानको राष्ट्रिय सभाका केही सदस्यले इमरान खान जिन्दाबादको नारा लगाएका थिए । जरदारीले आफ्नो पार्टी पीपीपीसहित नवाजको पार्टी पीएमएल–एन र ३ अन्य पार्टी एमक्यूएम–पी, बीएपी, आईपीपीको समर्थन पाएका थिए ।
मौलाना फजल–उर–रहमानको पार्टीले आम निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै संसदसँग सम्बन्धित सबै निर्वाचन बहिष्कार गरेकाले राष्ट्रपतिको निर्वाचनमा भाग लिएन ।
पाकिस्तानी मिडिया द डनका अनुसार नयाँ राष्ट्रपतिले आइतबार सपथ लिने कार्यक्रम तय भएकाे छ । यसअघि शुक्रबार राष्ट्रपति आरिफ अल्वीलाई गार्ड अफ अनरसहित पदबाट बिदाइ गरिएको थियो ।


