गण्डकीमा मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने कार्यसूची छ । संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ । गत २५ चैतमा मुख्यमन्त्री नियुक्त भएका अधिकारीले सोमबारसम्म विश्वासको मत लिइसक्नुपर्छ ।

मुख्यमन्त्री अधिकारीले आइतबार प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम तय भएको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री हरिबहादुर चुमानले जानकारी दिनुभयाे ।

६० सदस्यीय प्रदेशसभामा नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र सांसद दीपक मनाङे गरी ३१ सांसदको हस्ताक्षर बुझाएर अधिकारी मुख्यमन्त्री बनेका थिए । तर कांग्रेसले भने सभामुखबाट राजीनामा नदिई सभामुखले मुख्यमन्त्री नियुक्तिको पक्षमा हस्ताक्षर गर्न नमिल्ने भन्दै अदालत पुगेको थियो । सर्वोच्च अदालतले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त अधिकारीको पक्षमा बहुमत रहे, नरहेको बारेमा प्रदेशसभामा परीक्षण हुन दिनुपर्ने भन्दै कांग्रेसको रिट खारेज गरिदिएको थियो ।

आइतबार मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा ३१ सांसदको समर्थन जुटाए विश्वासको मत प्राप्त गर्ने भए पनि राप्रपाले अहिलेसम्म कुनै निर्णय नगरेकाले विश्वासकाे मत पाउन नपाउने निश्चित छैन । राप्रपा तटस्थ बस्ने संभावना छ ।

Facebook Comments