२१ सचिवकाे सरूवा, १८ मुलुकमा राजदुत सिफारिश
सरकारले २१ जना सचिवहरूको सरूवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले एकैपटक धेरै सचिवहरूको सरूवा गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद निर्णय अनुसार रामप्रसाद घिमिरे अर्थ सचिवमा सरूवा गरिएकाे छ । त्यस्तै बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश घिमिरेलाई राजस्व सचिव बनाउने निर्णय गरेको छ।

मन्त्रिपरिषद स्रोतका अनुसार यसअघि अर्थसचिव रहेका मधुकुमार मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरूवा गरिएको छ।
सरकारले बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ नियुक्तिका लागि लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेकाे छ ।
सरकारले पाँच देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ। त्यस्तै १८ देशमा नयाँ राजदूत सिफारिस गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सरकारले अस्ट्रेलिया, चीन, श्रीलंका, रसिया र दक्षिण अफ्रिकाका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
चीनका राजदूत विष्णुपुकार श्रेष्ठ, अस्ट्रेलियाका कैलाशराज पोखरेल, रूसका मिलन तुलाधर, श्रीलंकाका वासुदेव मिश्र र दक्षिण अफ्रिकाका राजदूत दानबहादुर तामाङ फिर्ता बोलाइएका हुन्।
यस्तै अमेरिका, बेलायत, दक्षिण कोरिया, रसिया, कतार, चीन, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, भारत, अस्ट्रेलिया, साउदी अरब, अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनीका लागि नयाँ राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ।
सरकारले भारतमा शंकर शर्मालाई नै निरन्तरता दिने भएको छ।
अमेरिकामा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी र बेलायतमा पूर्वसचिव चन्द्र घिमिरे सिफारिस गरिएकाे स्राेतले जनाएकाे छ ।
त्यस्तै दक्षिण कोरियामा एमाले स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाङ्फे र मलेसियामा नेत्र तिमल्सिना सिफारिस भएका छन्। चीनमा कृष्णप्रसाद ओली र जर्मनीमा शैल रूपाखेती सिफारिस भएका छन्।
पाकिस्तानमा रिता धिताल, दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ, स्पेनमा सनिल नेपाल, साउदी अरबमा नरेश विक्रम ढकाल, इजरायलमा धनप्रसाद पण्डित र पोर्चुगलमा प्रकाशमणि पौडेल र स्ट्रेलियामा कान्ता रिजाललाई सिफारिस गरिएकाे छ ।

