बंगालको खाडीमा चक्रवात: काेशी प्रदेशमा वर्षा हुन सक्ने
दाना चक्रवात बंगालकाे खाडीमा बज्रिएकाे छ । हाल नेपालमा चक्रवातकाे आंशिक प्रभाव रहेकाे र देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
साथै कोसी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात ’दाना’ को आंशिक प्रभाव समेत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कोसी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
विभागका अनुसार आज दिउँसो कोसी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
राति, कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।


