मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

काठमाडाैंकाे मातातीर्थमा मेला

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन आमाको मुख हेर्ने पर्व मनाइने गरिन्छ ।

आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ। आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यो दिनलाई आमाको मुख हेर्ने दिन भनिएको हो ।

आजको दिनलाई मातृ औँसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आजको दिन छोराछोरीहरूले श्रद्धा, भक्ति, सम्मान अनि आदर गरिएकी आमालाई मीठो खान तथा राम्रो लगाउन दिई आमाबाट शुभ–आशीर्वाद ग्रहण गर्ने चलन छ ।

माता तीर्थ औँसीका दिन काठमाडौँको थानकोट नजिकै अवस्थित माता तीर्थमा धूमधामका साथ मेला लाग्ने गर्छ । तीर्थाटनमा सहभागीहरूले माता तीर्थ कुण्डमा स्नान गर्छन् ।

कतिपय दर्शनार्थीहरु शनिबार साँझ नै दीप प्रज्वलन गरी रातभर जाग्राम बसेका थिए । उनीहरुले बिहान सबेरै स्नान गरी पूजा गरेका छन् ।

मेलामा सहभागी भई त्यहाँस्थित कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रही आएको छ ।

आमा नहुनेहरु मातातीर्थमा गई स्नान गरी हरिहर (विष्णु र शिव) को पूजा गर्छन् । आमा नभएकाहरुले सके प्रत्येक वर्ष, नसके एक पटक मातातीर्थ औँसीमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ ।

Facebook Comments