युक्रेनले ड्राेनकाे माध्यमबाट रूसमाथि लामाे दुरीकाे आक्रमण
युक्रेनले आइतबार रुससँगको युद्धमा हालसम्मकै सबैभन्दा ठुलो लामो दुरीको आक्रमण गरेकाे छ ।
युक्रेनी सुरक्षा निकाय एसबीयूले ‘स्पाइडर्स वेब’ नाम दिइ ड्राेनकाे माध्यमबाट गरिएकाे आक्रमणमा ११७ वटा ड्रोन प्रयोग भएकाे र ४ वटा रुसी सैन्य हवाई अड्डाहरूमा निशानामा रहेकाे जनाएको छ।
रुसका ४० वटा युद्धविमानहरूलाई निशाना बनाइएको युक्रेनी अधिकारीहरूले जनाएका छन् ।
एसबीयू स्रोतहरूले बताएका अनुसार, यो आक्रमण तयारी गर्न डेढ वर्ष समय लागेको थियो। ड्रोनहरू काठका मोबाइल क्याबिनमा लुकाएर, ट्रकमा राखिएका रिमोट-नियन्त्रित छाना भएका सवारीहरू प्रयोग गरेर एयरबेसहरू नजिकै ल्याइएका थिए। त्यसपछि उनीहरूलाई ‘सही समयमा’ प्रक्षेपण गरिएको थियो।
रुसले आफ्ना पाँच क्षेत्रमा युक्रेनी आक्रमण भएको पुष्टि गरेको छ र यसलाई ‘आतङ्कवादी कार्य’ भनी प्रतिक्रिया दिएको छ।
उता युक्रेनी अधिकारीहरूले पनि आफ्ना क्षेत्रमा ठुलो मात्रामा ड्रोन र मिसाइल आक्रमण भएको बताएका छन्।
यी घटनाहरूबिच, रुस र युक्रेनवीच दोस्रो चरणको शान्ति वार्ता टर्कीको इस्तानबुलमा हुँदैछ ।


