एयर इन्डियाको बोइङ ७८७ विमान दुर्घटनाग्रस्त

ड्रीमलाइनर विमानले लण्डनका लागि उडेकाे थियाे

भारतकाे गुजरात राज्यमा एयर इन्डियाको बोइङ ७८७ विमान दुर्घटनामा परेकाे छ । १० जना चालक दलका सदस्य र २३२ यात्रु सवार बोइङ ७८७ ड्रीमलाइनर विमान भारत गुजरातको अहमदाबादमा दुर्घटनाग्रस्त भएको हाे ।

 

विमान लन्डनतर्फ उडान भर्दै गर्दा टेकअफको क्रममा नै विमानस्थलबाट नजिकै बस्ती भएकाे स्थानमा दुर्घटनामा परेकाे हाे ।

विमानस्थल क्याम्पससँगै रहेको एयर कस्टम कार्गो कार्यालय नजिकै विमान दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।

एयर इन्डियाले अहमदाबाद-लन्डन गेटविक उडान गर्ने उडान नम्बर एआई१७१ आज, १२ जुन २०२५ मा दुर्घटनामा परेको जनाएकाे छ ।

एयरलाइन्सले थप जानकारी सङ्कलन गर्ने र प्राप्त जानकारीहरू सार्वजनिक गर्दै जाने बताएको छ।

विमान खस्ने बित्तिकै सम्पूर्ण क्षेत्रमा धुवाँको मुस्लो देखिएको थियो । दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको छ भने ७ वटा दमकल र एम्बुलेन्स पनि दुर्घटनास्थलमा पुगेका छन्। उद्धार कार्य सुरु गरिएको छ। एनडीआरएफका २ वटा टोली पनि उद्धार कार्यमा जुटेका छन् ।

केन्द्र सरकार र प्रान्त सरकारले समन्वयका साथ उद्दार कार्यमा लागेकाे जनाएका छन् ।

Facebook Comments