ललितपुरस्थित ग्वार्को चोककाे ‘फ्लाई ओभर’ सञ्चालनमा
फ्लाई ओभरकाे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने
ललितपुरकाे ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माण सम्पन्न भएकाे छ । ‘फ्लाई ओभर’काे आज (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत् रूपमा उद्घाटन गर्नुभएपछि सञ्चालनमा आउनेछ ।
‘फ्लाई ओभर’ निर्माणले साे क्षेत्रमा सवारी आवागमन सहज हुने विश्वास गरिएकाे छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाडौँ उपत्यकामा निर्माण सम्पन्न बहुप्रतिक्षित ग्वार्को ओभरपास परियोजना निर्माण सम्पन्न गरेकाे हाे ।

केन्द्रले दुई वर्षभित्र काम सम्पन्न हुने गरी २०७८ साल फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । यसरी २०८० साल फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो ।
तर तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि २०८१ असारमा निर्माण सम्पन्न हुने गरी फेरि दोस्रो पटक म्याद थप भएको थियो । तर फेरि पनि तोकिएको समयमा पनि निर्माण सम्पन्न हुन नसकेपछि २०८१ साल पुस ८ गते सम्पन्न गर्ने गरी म्याद थप भएपनि सम्पन्न हुन सकेन । साे म्याद थपकाे करिव ६ महिनापछि आयोजना निर्माण सम्पन्न भएकाे हाे ।

