कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहीरहेको छ।
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।
त्यस्तै मधेश प्रदेश लगायत कोशी प्रदेश र बागमती प्रदेशको तराई र पहाडी भू-भाग तथा बाँकी प्रदेशको पहाडी भू-भागको केहि स्थानहरूमा तथा बाँकी तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएकाे छ ।
त्यस्तै आज राती कोशी प्रदेश, मधेश प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।
महाशाखाका अनुसार राती मधेश प्रदेश लगायत कोशी प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भाग र बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरू तथा तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। काेशी प्रदेशको तराई र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

