विजयादशमी टीका जमरा लगाएर मनाइँदै

हिन्दु धर्मावलम्वीहरूकाे प्रमुख पर्व बडा दसैंको महत्वपूर्ण दिन विजयादशमी आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक टीका र समृद्धिको प्रतीक जमरा लगाइ मनाइँएको छ।

दसैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजाआराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइएको हो । कतिपयले आजकाे दिन मात्र टीका जमारा लगाउने गर्दछन् भने कतिपयले टीका जमरा ग्रहण गर्ने क्रम कोजाग्रात पूर्णिमाको दिनसम्म चल्नेछ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ।

विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ –

आयुद्रोणसुते श्रियं  दशरथे शत्रुक्षयं राघवे
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण

अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ।

यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ। महिलालाई भने दुर्गा देवीको स्वरुप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ —

जयन्ती मंगला काली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते

आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने मानिसको बाटामा भीड लाग्छ । यद्यपि यस वर्ष वर्षाकाे संभावना रहेकाले सतर्कता अपनाउन भने जरूरी देखिएकाे छ ।

Facebook Comments