मतदाता नामावलीमा दर्ता गर्नेकाे चाप बढ्दाे

फागुन २१ का लागि ताेकिएकाे निर्वाचनमा मताधिकार प्रयाेग गर्नका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने क्रम जारी रहेकाे छ ।

असोज ९ गतेबाट सुरु भएकाे नामावली दर्तामा हालसम्म थपिने नयाँ मतदाताको संख्या २ लाख ९ हजार ५५२ जना पुगेको निर्वाचन आयोगले जनाएकाे छ ।

निर्वाचन आयोगमा मंगलबारसम्म संकलित विवरणअनुसार नयाँ थपिएका मतदाताहरूमा पुरुष १ लाख २२ हजार ७४० जना र महिला ८६ हजार ७८५ जना रहेका छन् । अन्य २७ जना रहेका छन् ।

अन्तरिम सरकारले आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन मिति घोषणा गरेपछि निर्वाचन आयोगले जेनजी समूहलाई लक्षित गरी मतदाता नामावली संकलन कार्य गत असोज ९ गतेबाट सुरु गरेको थियो । मतदाता नामावली संकलन कार्य यही कात्तिक ३० गतेसम्म जारी रहनेछ ।

आयोगका अनुसार १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकहरूले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा गएर नाम दर्ता गर्न सक्नेछन् । चाप बढेपछि काठमाडाैं उपत्यकामा २ सिफ्टमा काम भइरहेकाे जनाएकाे छ ।

सार्वजनिक बिदाको दिन बाहेक बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म नामावली दर्ता गर्न सकिने छ ।

निर्वाचन आयोगका अनुसार कार्तिक १६ गतेसम्म मतदान गर्ने उमेर पुगेका मतदाताकाे संख्या १ कराेड ८१ लाख ६८ हजार २३० रहेकाे छ । जसमा पुरूष ९२ लाख ५१ हजार ५४१, मिहला ८९ लाख १६ हजार ५ ०२ र अन्य १८७ जना रहेका छन् ।

Facebook Comments