पर्यटन प्रवर्द्धनमा साझेदारी हुनुपर्नेमा जाेड
नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले पोखराहुँदै बाग्लुङ, बुर्तिबाङ र ढोरपाटनसम्मका विभिन्न पर्यटकीय गन्तव्यलाई लक्षित गरी सञ्चालित तीन दिने पर्यटन प्रवर्द्धन कार्यक्रम सकिएको छ ।
आन्तरिक पर्यटन पर्वद्धनको उद्देश्यका साथ आयोजित कार्यक्रममा संघ आवद्ध सदस्यसँगै पोखरामा कृयाशिल विभिन्न पर्यटनसम्बद्ध संस्थाका पदाधिकारी, सञ्चारकर्मी सहितको टोली सहित मङसिर २४ गतेदेखि पोखराबाट ढोरपाटनसम्मको प्रवर्द्धनात्मक कार्यक्रममा निस्किएको संघका गण्डकी प्रदेश अध्यक्ष दुर्गादत्त दाहालले जानकारी दिनुभयो ।
कार्यक्रमकै अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा बाग्लुङमा कास्की, बाग्लुुङ, म्याग्दी र पर्वतका यातायात सम्बद्ध व्यवसायी, चालक तथा सहचालकका लागि गरिएको अभिमुखीकरण तालिम गरियाे ।
तालिमले यस क्षेत्रमा सुरक्षित एवम् गुणस्तरीय यातायात सेवा सञ्चालनका लागि टेवा पुग्ने विश्वास गरिएकाे छ ।
कार्यक्रमकै क्रममा बाग्लुुङ, बुर्तिवाङ र ढोरपाटन क्षेत्रका पर्यटन व्यवसायीसँग एक आपसमा पर्यटकीय साझेदारी बढाउने लगायतका विषयमा महत्वपूर्ण छलफलहरू भएको उहाँले जानकारी दिनुभयो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका बरिष्ठ अधिकृत युवराज गुरुङले पर्यटकीय सम्भावना बोकेका ढोरपाटन जस्ता स्थलहरूको पर्यटकीय विकासका लागि प्रवर्द्धन जरुरी रहेको बताउनुभयो ।
“कार्यक्रमसँगै पोखरा–ढोरपाटनको पर्यटन प्रवर्द्धन र पर्यटकीय साझेदारीका लागि महत्वपूर्ण उपलब्धि हासिल भएको हामीले महसुस गरेका छौं”, उहाँले भन्नुुभयो, “पर्यटन सम्बद्ध सबै पक्षको एकतावद्ध प्रयाससँगै व्यवसायी व्यवसायी बीचको एकापसमा समन्वय र साझेदारीबाट सबैले फाइदा लिन सकिन्छ ।”

