भद्रपुरमा बुद्ध एअरकाे विमान धावन मार्गमा चिप्लियाे

झापाकाे भद्रपुर विमानस्थलमा शुक्रबार राति बुद्ध एयरको विमान धावनमार्गमा चिप्लेर दुर्घटनामा परेकाे छ । साे दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएकाे बुद्ध एअरले जनाएकाे छ । ललितपुर-४ निवासी को-पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठ र अन्य छ जना यात्री घाइते भएका हुन् ।

काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन-वेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा भासिएर दुर्घटनाग्रस्त भएकाे प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार उक्त जहाजमा ५१ जना यात्री, चार जना चालक दलका सदस्य र एक जना विमानका इन्जिनियर सवार थिए ।

घाइतेलाई नेपाल प्रहरीको उद्धार टोलीले तत्कालै भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलमा उपचारका लागि पुर्‍याएको थियो । टाउको र अनुहारमा चोट लागेका को–पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठको अस्पतालमा उपचार भइरहेको छ भने अन्य छ जना घाइते सामान्य उपचारपछि ’डिस्चार्ज’ भएर घर फर्किसकेका छन् ।

Facebook Comments