आज साँझ खण्डग्रास चन्द्रग्रहण लाग्दै
आज फागुन १९ गते (मंगलबार) साँझ खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । साँझ ६ः०४ बजे चन्द्रमा उदाउँदा ग्रहणसहित उदाउने खगोलविद्हरुले बताएका छन् ।

यो चन्द्रग्रहण नेपालका विभिन्न भागबाट देखिने छ । यो ग्रहण विशेष किसिमको रहने खगाेलविदले बताएका छन्। मंगलबार साँझ चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा उदाउँने भएकोले यो ग्रहणलाई दुर्लभ मानिएको हो ।
काठमाडौँमा साँझ ६ः०४ बजे ग्रहणसहित चन्द्रमा उदाउने छ । चन्द्रमा क्षितिजबाट माथि आउँदै गर्दा यसको आधाभन्दा धेरै भाग पृथ्वीको कालो छायाँले ढाकिएको अवस्थामा देखिने छ ।

यो खगोलीय घटना काठमाडौँबाट करिब एक घण्टासम्म स्पष्ट रूपमा देख्न सकिने छ।
यो चन्द्रग्रहण अवलोकनका लागि कुनै विशेष उपकरण वा चस्माको आवश्यकता नपर्ने खगोलविद्ले बताएका छन्। सूर्यग्रहण जस्तो चन्द्र ग्रहणबाट आँखालाई असर नगर्ने हुनाले नाङ्गो आँखाले खुला ठाउँबाट चन्द्रग्रहण हेर्न सकिने छ।
यसअघि गएको भदौ २२ गते राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लागेको थियो। यो चन्द्रग्रहण काठमाडौँबाट साढे तीनघण्टा देखिएको थियो।

