प्रत्यक्षतर्फ २१ स्थानकाे नतिजा आउन बाँकी, ११२ स्थानमा रास्वपाका उम्मेदवार विजयी
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनकाे मतगणना जारी छ । मतगणनाकाे सार्वजनिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमत आउने निश्चित देखिएकाे छ ।
याेसँगै रास्वपाले बहुमतको सरकार बनाउने पक्कापक्की भएको छ । २१ सिटकाे मात्र नतिजा आउन बाँकी छ । सार्वजिनक भएकाे मतपरिणाम अनुसार रास्वपाका ११२, नेपाली कांग्रेसका १६, नेकपा एमालेका ७, नेपाली कम्युनिष्ट पार्टीका ६, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी र स्वतन्त्र उम्मेदवार १/१ सिटमा विजयी बनेका छन् ।
रास्वपाले प्रधानमन्त्रीको रूपमा वरिष्ठ नेता बालेन शाहलाई अघि सारेको छ । शाह झापा-५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेर अत्याधिक मतका साथ विजयी भइसक्नुभएकाे छ ।
रास्वपाले अहिलेसम्म प्रत्यक्षतर्फमात्रै ११२ रिट जितिसकेको छ। अझै १३ सिटमा अग्रता कायमै गरिरहेको छ। सरकार बनाउन बहुमतका लागि १३८ सिट चाहिन्छ। त्यो सिट रास्वपाले सहजै पाउने देखिन्छ । रास्वपा प्रत्यक्षमा १२५ सिटमा विजयी हुने संभावना देखिएकाे छ । त्यस्तै समानुपातिक ११० सिट रहेकामा मतगणना भइँरहँदा रास्वपाले ५० प्रतिशतभन्दा धेरै सिट पाउने संभावना देखिन्छ ।
समानुपातिकतर्फ पनि मतगणना भइरहँदा रास्वपाले अरूभन्दा धेरै मत ल्याउने देखिएको छ।
चितवन क्षेत्र नं. २ बाट निर्वाचित भएपछि रास्वपाका सभापति रवि लामिछानेले पार्टीले अघि सारेका वाचा पत्र पूरा गर्ने बताउनुभएकाे छ ।
रास्वपाले फागुन ७ गते वाचा पत्र मार्फत् ५ वर्षमा गर्ने १०० बुँदे कामकाे सूची सार्वजनिक गरेको थियो।

