माैसमः पहाडी र हिमाली भु-भागमा हल्का वर्षा र हिमपातको सम्भावना
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधरणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आइतबार दिउँसो देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आँशिक बादल लाग्नेछ ।
त्यस्तै देशको पहाडी र हिमाली भु-भागका थोरै स्थानहरू तथा कोशी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राति देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

