बालेन शाहले आज प्रधानमन्त्रीकाे सपथ लिने
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनकाे जनादेश अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले नयाँ सरकार गठन गर्दैछ ।
निर्वाचनका बेला बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्री प्रस्ताव गरेर निर्वाचनमा हाेमिएकाे रास्वपाले प्रधानमन्त्री बनाउनका लागि संसदीय दलकाे नेताका रूपमा बालेनलाई चयन गरिसकेकाे छ ।
साेही मतादेश अनुसार बालेनले आज नयाँ प्रधानमन्त्रीकाे सपथ ग्रहण गर्दै हुनुहुन्छ । ३६ वर्षीय बालेन्द्र शाह (बालेन) आज नेपालको नयाँ प्रधानमन्त्री बन्न लाग्नुभएकाे हाे ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले रास्वपा वरिष्ठ नेता बालेनलाई प्रधानमन्त्री पदको शपथ गराउने कार्यक्रम तय भएको छ ।
शपथ ग्रहण समारोह दिउँसो १२:३४ बजेका लागि तय भएको हो । बालेनले दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्नुहुनेछ ।
प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शखनाथ हुने, १०८ जना बटुकबाट स्वस्ती शान्ति वाचन गर्ने, १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गर्ने तयारी छ ।
प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराउने तयारी छ । मन्त्रालयकाे संख्या समेत घटाउने तयारी रास्वपाले गरिरहेकाे छ । १५ देखि १८ वटा मन्त्रालय बनाउने तयारीमा रास्वपा नेतृत्व रहेकाे छ ।
राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारी सहभागी हुनेछन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार रास्वपाको एकल सरकार गठन हुन लागेको हो । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले १८२ सिटमा जित निकालेको थियो ।

