‘आर्टेमिस २’ मिशनअन्तर्गत ४ अन्तरिक्ष यात्रीहरू चन्द्रमा प्रस्थान
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको महत्वाकांक्षी ‘आर्टेमिस २’ मिशनअन्तर्गत चार जना अन्तरिक्ष यात्रीहरू चन्द्रमा प्रस्थान गरेका छन् ।
४ जना अन्तरिक्ष यात्रीहरू बोकेको विशाल रकेट नेपाली समयअनुसार बिहीबार बिहान अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट अन्तरिक्षतर्फ उडेको हो।
सन् १९७२ को अन्तिम अपोलो मिशनपछि पहिलो पटक मानवयुक्त यान चन्द्रमाको कक्षतर्फ मोडिएको यो ऐतिहासिक क्षणले विश्वभरकै ध्यान खिचेको छ।
यो मिशन ऐतिहासिक अपोलो कार्यक्रमभन्दा केही फरक छ । यसपटक आर्टेमिस २ को चालक दलमा पहिलो पटक एक महिला अन्तरिक्ष यात्री क्रिस्टिना कोच, एक अश्वेत अन्तरिक्ष यात्री भिक्टर ग्लोभर र एक गैर-अमेरिकी सदस्य जेरेमी ह्यान्सन समावेश गरिएकाे छ ।
उनीहरूसँगै नासाका अनुभवी यात्री रीड वाइसम्यानले यो टोलीको नेतृत्व गर्ने बताइएकाे छ ।
नासाको लगभग ३२ तले अग्लो ‘स्पेस लन्च सिस्टम’ (एसएलएस) रकेट र ‘ओरियन’ क्रु क्याप्सुलले सूर्यास्त हुनुभन्दा केही समयअघि उडान भरेका थिए । यो शक्तिशाली रकेटले पृथ्वीको कक्षमा एक दिन बिताएपछि ओरियन क्याप्सुलमा रहेका यात्रीहरूलाई चन्द्रमातर्फ लैजानेछ।
यो मिशनको मुख्य उद्देश्य चन्द्रमाको सतहमा अवतरण गर्नु नभई चन्द्रमाको परिक्रमा गरेर सुरक्षित रूपमा पृथ्वीमा फर्किनु हो। यो लगभग १० दिनको यात्रा हुनेछ, जुन प्रशान्त महासागरमा क्याप्सुल अवतरण भएसँगै समाप्त हुनेछ।

यो यात्राले अन्तरिक्ष विज्ञानमा नयाँ कीर्तिमान समेत कायम गर्नेछ । आर्टेमिस २ ले अन्तरिक्ष यात्रीहरूलाई पृथ्वीबाट २ लाख ५२ हजार माइल (४ लाख ६ हजार किलोमिटर) टाढा पुर्याउनेछ, जुन सन् १९७० को ‘अपोलो १३’ मिशनले बनाएको २ लाख ४८ हजार माइलको रेकर्डभन्दा पनि बढी हुनेछ ।
उडानको साढे तीन घण्टापछि ओरियन क्याप्सुल रकेटबाट अलग हुनेछ र यात्रीहरूले आफैंले क्याप्सुल चलाएर यसको स्टेयरिङ र नियन्त्रण क्षमताको परीक्षण गर्नेछन् ।
नासाले आर्टेमिस २ काे यात्राअवधिभर प्रत्यक्ष अनुगमन गरिरहनेछ ।

यद्यपि प्रक्षेपण सफल भए पनि मिशन कन्ट्रोलले केही साना प्राविधिक चुनौतीहरूको सामना गरिरहेको छ । नासाका सह-प्रशासकका अनुसार हाल अन्तरिक्ष यानको शौचालयमा केही समस्या देखिएको छ । यो एक परीक्षण मिशन भएकाले यस्ता समस्याहरू आउन सक्ने र यसलाई समाधान गर्ने काम भइरहेको बताइएकाे छ ।
यो मिशनको सफलताले सन् २०२८ मा हुने ‘आर्टेमिस ४’ मिशनमार्फत पुनः चन्द्रमाको माटोमा मानव पाइला टेकाउने योजनाका लागि मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ।


