रास्वपाकाे सचिवालय बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी सचिवालयको बैठक आह्वान गर्नुभएकाे छ ।

आइतबार दिउँसो साढे ३ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय बस्ने गरी सो बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिनुभयाे । 

पार्टीको सांगठनिक विस्तार र महाधिवेशनको तयारीलाई लक्षित गर्दै सचिवालय बैठकका लागि ६ वटा मुख्य कार्यसूची (एजेन्डा) तय गरिएका छन्। 

बैठकमा विशेषगरी जिल्ला अधिवेशन कार्यविधि २०८३ माथि छलफल हुनुका साथै महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनका विषयमा निर्णय हुने छ । त्यस्तै, पार्टीको आर्थिक पारदर्शिता र व्यवस्थापनका लागि बैंक खाता सञ्चालन सम्बन्धमा पनि छलफल हुने कार्यसूचीमा उल्लेख छ। 

पार्टीको संरचनालाई पूर्णता दिने क्रममा केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभिन्न विभागहरूमा गरिने मनोनयनका विषयमा पनि सचिवालयले निर्णय लिनेछ। रास्वपाले यसपटक नयाँ प्रयोग गर्दै ‘विज्ञहरूको आह्वान’  र ‘योजनाहरूको आह्वान’लाई पनि बैठकको मुख्य एजेन्डा बनाएको छ। 

झाका अनुसार विविधअन्तर्गत प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी बाँडफाँट, आगामी केन्द्रीय समिति बैठकको तयारी र संसदीय दलका लागि आवश्यक प्राविधिक सहायता एवं लेबीका विषयमा पनि विस्तृत छलफल हुने छ ।

Facebook Comments