वार्ताका लागि इरानी प्रस्ताव अमेरिकालाई पूर्ण रूपमा ‘अस्वीकार्य’

अमेरिकाले युद्ध अन्त्यका लागि इरानले अघि सारेको पछिल्लो प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार्य भनेकाे छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी पक्षले अगाडी सारेकाे प्रस्ताव पूर्ण रूपमा अस्वीकार्य रहेकाे उल्लेख गर्नुभएकाे छ ।

दुई देशबीच महिनौंदेखि जारी युद्ध अन्त्य गर्ने अमेरिकाले प्रस्तावकाे प्रतिउत्तरमा पाकिस्तानमार्फत पठाइएको प्रस्तावलाई ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’मा कडा प्रतिक्रिया दिँदै अस्वीकार गर्नुभएकाे हाे ।

ट्रम्पले लेखेका छन्, ‘मैले भर्खरै इरानका तथाकथित ‘प्रतिनिधिहरू’बाट प्रतिक्रिया पढेको छु । मलाई यो मन पर्दैन- पूर्णतया अस्वीकार्य छ । यदि इरान सम्झौतामा सहमत भएन भने फेरि आक्रमण हुने ट्रम्पकाे चेतावनी छ । ट्रम्पका तर्फबाट यसअघि पनि पटक पटक इरानकाे सभ्यतालाई नै खत्तम पार्ने चेतावनी सार्वजनिक हुने गरेकाे छ ।

इरानको अर्ध-सरकारी तस्निम समाचार एजेन्सीका अनुसार तेहरानको प्रस्तावमा सबै मोर्चामा तत्काल युद्धको अन्त्य, अमेरिकी नौसेनाद्वारा लगाइएको नाकाबन्दी हटाउनुपर्ने र इरानमाथि पुनः आक्रमण नगर्ने ग्यारेन्टी लगायतका माग गरिएको थियो । 

अमेरिकाले इरानसमक्ष प्रस्तुत गरेको १४ बुँदे ज्ञापनपत्रमा इरानी आणविक संवर्धनमा पूर्ण रोक, प्रतिबन्धहरूको अन्त्य र हर्मुजको जलमार्गबाट निर्वाध पारवहनको सुनिश्चितताजस्ता सर्तहरू राखिएका थिए ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानको समृद्ध युरेनियमको भण्डार र संवर्धन स्थलहरू पूर्ण रूपमा नष्ट नगरेसम्म युद्ध समाप्त हुन नसक्ने चेतावनी दिनुभएकाे छ ।  

इजरायली र अमेरिकी अडानप्रति प्रतिक्रिया दिँदै इरानी राष्ट्रपति मसूद पेजेश्कियानले आफ्नो देश कहिल्यै नझुक्ने बताएका छन् । युद्धको मैदानमा पनि स्थिति तनावपूर्ण बनेको छ । हर्मुजमा इरानले आफ्नो नियन्त्रण कायम राख्दै विश्वको तेल आपूर्तिमा अवरोध पुर्‍याएपछि तेलको मूल्य आकाशिएको छ । 

इरानी सेनाले तेहरानसँग सहकार्य नगरी जलमार्ग प्रयोग गर्ने जहाजहरूले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएकाे छ ।

Facebook Comments