देशैभर मनसुन विस्तार हुँदै, देशैभर वर्षा हुने, लमजुङको भोर्लेटारमा भारी वर्षा
देशैभर मनसुन विस्तार हुने क्रममा रहेकाे छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार साेमबार विहान १ः३० बजेबाट ४ः३० बजेसम्म तीन घण्टकाे अवधिमा लमजुङको भोर्लेटारमा सबै भन्दा बढी ११४ मि.मि. पानी परेको छ ।
त्यस्तै चितवन, दाङ, बाँके, बर्दिया लगायतका जिल्लामा पनी भारी पानी परेको छ । गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा कर्णाली र मधेश प्रदेशका थोरै ठाउँमा मेघगर्जन/चट्याङ्ग सहित वर्षा भइरहेको छ ।
साेमबार दिउँसाे काेशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा वर्षा हुने महाशाखाले जनाएकाे छ । त्यस्तै कर्णाली र सुदुरपश्चिमका पहाडी तथा हिमाली भूभागमा मध्यम वर्षा र हिमपातकाे संभावना रहेकाे महाशाखाले जनाएकाे छ ।
यतिबेला बागमती प्रदेशका काठमाडाैं, भक्तपुर ललितपुर सहितका जिल्लाहरूमा मेघगर्जन सहित वर्षा भइरहेकाे छ ।


