माैसमः चार  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान, माैसम पूर्वानुमान महाशाखाका अनुसार चार प्रदेशका केही स्थानमा भारी वर्षाकाे संभावना रहेकाे छ ।

महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा अधिकांश बादल एवं कोशी र मधेश, प्रदेशमा साधारणतया बादल लागेको छ।

त्यस्तै बागमती र गण्डकी प्रदेशको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भईरहेको छ।

महाशाखाका अनुसार बुधबार दिउँसाे देशभर अधिकांश बादल लाग्नेछ । त्यस्तै देशको हिमाली र पहाडी भू-भागको केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा र मधेश प्रदेशको  एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे जनाएकाे छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम  प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

बुधबार राती देशभर अधिकांश बादल लाग्नेछ भने देशको हिमाली भू-भागको थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी देशको पहाडी भू-भागको केही स्थानमा तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा र मधेश प्रदेशको  एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएकाे छ । 

Facebook Comments