पोखरा बसपार्क क्षेत्रका ५६७ भूमिहीन तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण सार्वजनिक
पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण सार्वजनिक भएको छ। दाबी–विरोध तथा आवश्यक छानबिनपछि वडा तहको सहजीकरण समितिले तयार पारेको विवरण वडा समितिसमक्ष सिफारिस गरेको हो।
प्रारम्भिक विवरणअनुसार भूमिहीन दलित (BD) २००, भूमिहीन सुकुम्बासी (BS) २४८ र अव्यवस्थित बसोबासी (AB) ११६ जनाको निवेदन परेको थियो। प्रकाशित सूचनाअनुसार दाबी–विरोध तथा संशोधनका लागि प्राप्त निवेदनमाथि छानबिन र परीक्षण गरेपछि अन्तिम विवरणमा भने संख्या परिवर्तन भएको छ।
अन्तिम विवरणअनुसार भूमिहीन दलित १४४ र भूमिहीन सुकुम्बासी १८१ गरी जम्मा ३२५ परिवार भूमिहीनका रूपमा कायम भएका छन्। त्यस्तै, २४२ परिवार अव्यवस्थित बसोबासीका रूपमा कायम भएका छन्।

यसअघि प्राप्त निवेदन र अन्तिम विवरणबीच भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको संख्या घटेको छ भने अव्यवस्थित बसोबासीको संख्या बढेको छ।
वडा तहको सहजीकरण समितिले दाबी–विरोध तथा छानबिनपछि तयार पारेको प्रतिवेदन आज वडा समितिसमक्ष सिफारिस गरेको हो। वडा समितिको आजै बसेको बैठकले सहजीकरण समितिको प्रतिवेदन नियमानुसार ग्रहण गर्दै आवश्यक सिफारिससहित पोखरा महानगरपालिकामा पठाउने निर्णय गरेको छ।
अब पोखरा महानगरपालिकाको कार्यपालिकाले उक्त प्रतिवेदनमाथि आवश्यक छलफल गरी यसै साता जिल्ला समितिमा सिफारिस गर्ने तयारी गरेको छ।
महानगरबाट जिल्ला समितिमा सिफारिस अर्को सातादेखि पोखरा बसपार्क क्षेत्रबाट सुकुम्बासी बस्ती स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाउने तयारी गरिएको पोखराका मेयर धनराज आचार्यले जानकारी दिनु भयो ।

