बाढी पहिराेले राजमार्गका विभिन्न खण्डमा सवारी आवागमन प्रभावित
अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गका विभिन्न सडकखण्डहरूमा पूर्ण तथा आंशिक रूपमा सवारी आवागमन प्रभावित बनेकाे छ ।
प्रहरीले दिएकाे जानकारी अनुसार राजमार्गका केही स्थानमा पूर्ण रूपमा सवारी आवागमन अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ।
काठमाडौं उपत्यका जोड्ने चन्द्रागिरी न.पा.-२ चिसापानी (काठमाडौं-धादिङ खण्ड), मुग्लिन-नारायणगढ खण्डको तुइनखोलामा सडक मर्मतका कारण सवारी चाप हेरी एकतर्फी आलोपालो सन्चालनमा रहेकाे छ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ-७ कृष्णभिरमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । सोही राजमार्गको ज्वाङखोला र गजुरी-२ चालिसेमा भने सडक एकतर्फी सुचारु रहेको छ। कृष्णभिरमा सवारी सन्चालनका लागि ट्रयाक खाेल्ने कार्य भइरहेकाे छ ।
रसुवाको उत्तरगया र मुख्य राजमार्गका विभिन्न ठाउँमा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ ।
काभ्रेको खुर्कोट-नेपालथोक-कटुञ्जेबेँसी खण्डमा र नुवाकोटको टोखा-छहरे खण्डमा सम्भावित बाढी र पहिरोको जोखिमका कारण रातीकाे समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
कर्णाली प्रदेशका धेरैजसो मुख्य राजमार्गहरू पहिरोका कारण ठप्प छन् ।
मुगुको मुगु-गमगढी, कालिकोटको कर्णाली राजमार्ग (गग्ने खोला), सल्यानको राप्ती राजमार्ग (चोरखोला) र सुर्खेतको बराहतालमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
लुम्बिनी प्रदेशको रोल्पास्थित सहिद राजमार्गको भालखोरमा पनि पहिरोका कारण यातायात पूर्ण रूपमा बन्द छ।



