चार वटा संसदीय समितिको बैठक बस्दै
आज चार वटा विभिन्न संसदीय समितिको बैठक बस्दै छ ।
संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

बिहान ८ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा भएकाे उद्धार र राहत प्रयास सम्बन्धमा केन्द्रित हुनेछ ।
बाढीबाट भएको मानवीय एवं भौतिक क्षति, उद्धार, राहत, पुनर्स्थापना एवं पुनर्निर्माणका सम्बन्धमा शिक्षा तथा खेलकुद मन्त्रालयबाट भएका एवं भइरहेका कार्य, त्यस्ता कार्यसम्पादनका क्रममा देखा परेका समस्या तथा चुनौती र आगामी दिनमा यस सम्बन्धमा मन्त्रालयले अवलम्बन गर्ने रणनीतिका सम्बन्धमा छलफल हुने कार्यसूची रहेकाे संघीय संसद सचिवालयले जनाएकाे छ ।
बिहान १० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा क्यासिनो क्षेत्रका व्यवसायीहरूसँग छलफल गर्ने कार्यसूची छ ।
यसैगरी बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ को प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची छ ।
त्यस्तै दिउँसो १ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेकाे सचिवालयले जनाएकाे छ ।

