चार प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ। मनसुनको न्यून चापीय रेखा भने हाल सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।
महाशाखाले उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा बनेकाे न्यून चापीय प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएको जनाएकाे छ।
महाशाखाका अनुसार देशका हिमाली र पहाडी भूभाग, मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागमा साधारणतया बदली रहने तथा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने आंशिक बदलीसम्म हुने संभावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपात हुनसक्ने संभावना छ ।
त्यसैगरी, मधेस प्रदेशका साथै कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्नेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे महाशाखाले उल्लेख गरेकाे छ ।

