प्रतिनिधिसभाको बैठक आज बस्दै
संघीय संसद अन्तर्गतकाे प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुहुने कार्यसूची छ ।
प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएकाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको बेहोरा राष्ट्रपति कार्यालयको पत्रमा छ ।
बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ ’ प्रस्तुत गर्नुहुनेछ ।

त्यस्तै अर्काे कार्यसूचीमा अर्थमन्त्री डा. वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन ) विधेयक, २०८३’ र भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
त्यस्तै, कृषि वन तथा पर्यावरणमन्त्री गिता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नहुने सम्भावित कार्यसूची रहेकाे संघीय संसद् सचिवालयले जनाएकाे छ।


