माैसमः देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान बुलेटिनमा हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको उल्लेख छ ।
महाशाखाले साथै बङ्गालको खाडीको गहिरो न्यून चापीय क्षेत्र भारतको विशाखापट्टनम र गोपालपुरको बीच, कलिंगपट्टनमको दक्षिणपश्चिम नजिकबाट उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तट पार गरेको र यो प्रणाली सुरुमा गहिरो न्यून चापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तरपश्चिमतर्फ सर्ने सम्भावना रहेको जनाएकाे छ । महाशाखाका अनुसार याे प्रणाली आगामी २४ घण्टामा उत्तर-उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको छ।
महाशाखाले पछिल्लो १२ घण्टामा लुम्बिनी प्रदेशमा भारी देखि धेरै भारी पानी, कोशी र गण्डकी प्रदेशमा पनि भारी पानी परेको छ उल्लेख गरेकाे छ । त्यस्तै कोशी, मधेश बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्का देखि मध्यम पानी परिरहेको छ ।
विहीबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लूम्बिनी प्रदेशमा अधिकांश बादल लाग्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने महाशाखाले जनाएकाे छ । त्यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
महाशाखाले मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागको अधिकांश स्थान, सुदूरपश्चिम प्रदेशको तराई भू-भागको केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षा हुन सक्ने जनाएकाे छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेकाे महाशाखाले उल्लेख गरेकाे छ । मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
महाशाखाका अनुसार विहीबार रातकाे समयमा देशभर अधिकांश स्थानमा बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
महाशाखाले मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागको अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षा हुन सक्ने उल्लेख गरेकाे छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा साथै मधेश प्रदेशको एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ भने मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्विनी प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

