पोखरामा ल्होसार महोत्सव, सबै समुदायवीच बृहत्तर एकतामा जोड

तमु प्ये ल्हु संघ, केन्द्रीय कार्यसमितिको आयोजनामा आजदेखि बृहत तमु फो ल्होसार महोत्सव–२०७५ सुरु भएको छ । अमरसिंहचौरमा आयोजित महोत्सवको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं संसदीय दलका प्रमुख सचेतक देवप्रसाद टु तमुले सबै जातजातिको भाषा, धर्म, संस्कृतिका बीच बृहत्तर एकताको खाँचौं औंल्याउनुभयो ।

सबै जातजाति र भाषाभाषीबीच एकता भए मात्र राष्ट्रिय स्वाधीनता बलियो बनाउन सकिने तर्क गर्दै नेता गुरुङले शान्ति र स्थिरता कायम गरेर देशलाई विकासको यात्रामा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

ल्होसारको शुभकामना दिँदै गुरुङले सबै जाति, भाषा, धर्म र संस्कृतिलाई एकताबद्ध बनाएर लोकतन्त्रलाई बलियो बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो । मुलुकको विकास र समृद्धि भए मात्र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सकिने बताउँदै उहाँले सबै जाति, भाषा, धर्म, संस्कृतिको समान ढंगले विकास गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेशका सांसद् मनबहादुर तमुले तमुलगायतका आदिवासी जनजाति समुदायको भाषा, धर्म, संस्कृतिको विकासका लागि आफू कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै तमु जातिको अधिकार प्राप्तिका लागि प्रदेश संसद्बाट विशेष पहल गर्ने आश्वासन दिनुभयो । सो अवसरमा तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय उपाध्यक्ष लेफ्टिनेन्ट यमबहादुर तमुले तमु समुदायको ल्होसार पर्वमा बिदा कटौती गरिएकोप्रति आक्रोश व्यक्त गर्नुभयो ।

महोत्सवको उद्घाटनका अवसरमा केन्द्रीय पच्यु समितिका अध्यक्ष कुलप्रसाद क्रोम्छे तमु, पोखरा महानगरपालिका वडा नं. २९ का वडाध्यक्ष चेतबहादुर ल्हेंगे तमु, नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष धर्म तमु, गुरुङ साहित्यिक मञ्च, नेपालकी अध्यक्ष गौरी तमुस्यो लगायतले तमु जातिको भाषा, धर्म, संस्कृतिको विकासका लागि राज्यले विशेष सहयोग गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

कार्यक्रममा तमु प्ये ल्हु संघका विभिन्न भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने सहयोगदाताहरुलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । साथै, सो अवसरमा केन्द्रीय युवा समिति तथा विभिन्न जिल्ला शाखाका कलाकारहरुले विभिन्न सांस्कृतिक प्रस्तुती राखेका थिए ।

तमु प्ये ल्हु संघ, केन्द्रीय कार्यसमितिका अध्यक्ष हितकाजी टु तमुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव शान्ति पर्जु तमुस्यो र सचिव बुद्धि च्हम्रु तमु एवं प्रथम उपाध्यक्ष आइबहादुर ल्हेंगे तमुले स्वागत गर्नुभएको थियो ।

खि ल्हो (कुकुर वर्ग)को बिदाइ तथा फो ल्हो (मृग वर्ग)को आगमनका अवसरमा आयोजित महोत्सवको उद्घाटन अघि पोखराको रानीपौवा चोकबाट सुरु भएको सांस्कृतिक झाँकीसहितको ¥याली महेन्द्रपुल, भीमसेनचोक, चिप्लेढुंगा, वीपीचोक, नयाँसडक, सभागृहचोक, लखनचोक, रंगशाला गेट, बुद्धचोक, अमरसिंहचोक हुँदै अमरसिंहचौरमा कार्यक्रममा परिणत भएको थियो ।

महोत्सवमा पूर्वका तेह्रथुम, पाँचथर, ताप्लेजुङ, पश्चिमका रोल्पा, दाङ, बाँके, बर्दिया, कञ्चनपुरलगायतका जिल्ला शाखाहरुबाट समेत सहभागिता रहेको छ ।

१६ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन अमरसिंहचौरमा भएपनि शुक्रबारदेखि रानीपौवा, शक्तिघाटस्थित तमु प्ये ल्हु संघ, फ–लि–ना क्होंइबो धिं परिसरमा महोत्सवका बाँकी कार्यक्रम सञ्चालन हुने प्रचारप्रसार संयोजक बुद्धि च्हम्रु तमुले जानकारी दिनुभयो ।

महोत्सवमा विभिन्न विषयमा प्रवचन, साहित्यिक रचना वाचन, लोक तथा दोहोरी गीत, कलाकारहरुको प्रस्तुती, वृत्तचित्र प्रदर्शनी, सम्मान कार्यक्रम, रुपा लगाउने कार्यक्रम, बोन फायर, थासो, छ्योपा, छैकु ह्योंखु, खेलकुदलगायतका कार्यक्रम राखिएको उहाँले जानकारी दिनुभयो । े

Facebook Comments